BIRJUNGनेपालको प्रमुख आर्थिक व्यापारीक नगरीको रुपमा परिचित वीरगंज शहरलाई गेट वे अफ नेपाल अर्थात् नेपालको प्रवेशद्धार पनि भनिन्छ । आर्थिक नगरी वीरगंजमा अधिकार प्राप्तिको लागि भएको करिब ६ महिना लामो मधेस आन्दोलनले पारेको प्रभाव बुझ्न तथा त्यहाँका स्थानीय तथा व्यापारीहरुको मत अभिमत बुझ्न एक छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा अधिकांश व्यापारी, उद्योगपति, महिला व्यवसायी, उद्यमी, राजनीतिक दलका नेता, बुद्धिजीवि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी महिला व्यवसायी कुमारी सोनी पासवानले छलफलमा बोल्दै मधेश आन्दोलनको समयमा सबै व्यवसायीले आफ्नो व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्ने वातावरण नभएको बताइन् । उनीसँग सहमत हुँदै अन्य व्यवसायीले पनि विरगञ्ज नेपालको आर्थिक नगरी हुँदाहुँदै पनि बेलाबखतमा हुने गरेका राजनीतिक घटनाक्रमको प्रभावबाट भने विरगञ्ज मुक्त हुन नसकेकोप्रति गुनासो गरे ।

राजनीतिकर्मी शिव पटेल आन्दोलनलाई व्यापारीक घाटासँग मात्रै दाँज्न नहुने तर्क गरे । पटेल भन्छन्– ‘पछिल्ला दिनमा भएको मधेस आन्दोलन पहिचानको आन्दोलन भएकोले मधेसी जनताले संविधानमा आफ्ना अधिकार खोजेको आन्दोलनलाई व्यापारीक घाटासँग मात्र तुलना गर्न मिल्दैन ।’ कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका प्रदिप केडियाले मधेस आन्दोलनको दौरानमा वीरगंजको व्यापार व्यवसाय तथा आर्थिक गतिविधि चेपुवामा परेको र हालसम्म पनि त्यो नोक्सानीको क्षतिपूर्ति नपाएको बताए ।

सरकारले बैंक व्याज वा अन्य भन्सार सम्बन्धि अप्ठ्यारोमा सहयोग नगरेकोप्रति केडियाको आपत्ति थियो । उनले मधेशका माग हालसम्म पनि पुरा नभएको तथा भविष्यमा पनि यी मागहरु पूरा हुनेमा ढुक्क हुन नसकिने धारणा राखे । कार्यक्रममा बोल्दै राजनीतिज्ञ ओम प्रकाश सर्राफले आन्दोलनमा मधेसका जनताले साथ दिएकोले मधेसले न्याय पाउने विश्वास व्यक्त गरे । वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध कुमार गुप्ताले देशको करिब ६० प्रतिशत लगानी विरगञ्जमा हुँदा पनि औद्योगिक नगरी घोषणा नगरिएकोमा आपत्ति जनाए । पूर्व सांसद आत्मारामप्रसाद साहले हरेक वर्ष राज्यले तराईका जिल्लालाई भनेर विनियोजन गर्ने बजेट किन फ्रिज भइरहेको छ भन्ने प्रश्न उठाएका थिए । हरेक विकास कार्य स्वामित्व विना नहुने भन्दै साहले विनियोजित बजेट ठूला–बडा नेताहरु र तिनका ‘फलोअर’ ले मात्रै पाउने हुँदा नै तराई मधेसको विकास हुन नसकेको बताए ।

छलफलमा बोल्दै ठाकुराम बहुमुखी क्याम्पसका प्रमुख ललन द्धिवेदीले मधेस आन्दोलन र अरु विभिन्न कारणले विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै गएको बताए । द्धिवेदीले विद्यार्थीहरुमा बीचमा नै पढाई छाड्ने प्रवृति मौलाएको प्रति चिन्ता व्यक्त गरेका थिए । सरकारी विद्यालयहरुमा विद्यार्थीको चाप घटिरहेको तथ्य मिडियामा आउँछ तर वर्तमान अवस्थामा निजी विद्यालयले समेत विद्यार्थी पाउन नसक्नु वास्तवमै चिन्ताको विषय रहेको उनको भनाइ थियो ।

मधेस आन्दोलनको लामो अवधिमा वीरगंज शहरमा “सामाजिक दुव्र्यवहार र मेलमिलापको अवस्था विग्रन नदिन आन्दोलनकारीले निकै सजगता अपनाएको समाजसेवी तरवेज अहमदले बताए । समय समयमा भइरहने आन्दोलनका कारण आर्थिक जर्जता भोगे पनि वीरगंज शहरले आफ्नो व्यापारिक सम्भावना बचाइ राखेको छ । आन्दोलन रोकिएसँगै शहरवासीहरु पहिले जस्तै व्यापार व्यवसायमा व्यस्त देखिन थालेका छन् ।